काठमाडौं । सरकारले ल्याएको नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण देखिएको छ ।
सार्वजनिक भएको २४ घण्टामै एन्ड्रोइडमा एपको डाउनलोड संख्या एक लाख १० हजार नाघेको हो ।
शुक्रबार दिउँसो सार्वजनिक भएको एपको डाउनलोड संख्या शनिबार बिहान मात्र १० हजार कटेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको एप डेभलपर टोलीले शनिबार बेलुका एपको डाउनलोड संख्या एक लाख १० हजार पुरा भएको जानकारी दिएको छ ।
यससँगै २४ घण्टामै सबैभन्दा धेरै डाउनलोड हुने नेपाली एपहरुमा नागरिक एप पहिलो बनेको छ ।
टप फ्री एपमध्ये नेपालमा याे एप शीर्ष स्थानमा छ । डेभलपर टोलीका अनुसार एक लाख १० हजारले डाउनलोड गरेको भए पनि एपमा सफलतापुर्वक खाता खोल्नेको संख्या भने ३२ हजार मात्रै रहेको छ ।
एप डाउनलोड गर्ने मध्ये ८८ हजार प्रयोगकर्ताले मोबाइलमा ओटीपी कोड भेरिफाई सफलतापूर्वक गराउन सकेका छन् । त्यसमध्ये ५६ हजार प्रयोगकर्ताको विवरण प्रमाणीकरण हुन बाँकी देखिएको छ ।
नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण सम्बन्धित निकायको सिस्टममा रहेको विवरणसँग मेल नखाएको तथा अर्कैको नाममा रहेको सिमकार्ड प्रयोग गरेका कारण धेरैजसोको विवरण प्रमाणीकरण सफल नभएको बताइएको छ ।
परीक्षणको क्रममा रहेको एपमा उक्त संख्यामा रजिस्टर हुनु आफैमा ठूलो विषय भएको बताइएको छ ।
सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ सरकारले नागरिक एप ल्याएको हो ।
हाल यो एपमा स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सुविधा मात्र उपलब्ध छ ।
अन्य सेवा क्रमशः थप गर्दै लैजाने योजना रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उल्लेख गरिसकेका छन् ।
एपमा खाता खोल्न प्रयोगकर्तासँग आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ ।
एपमा राखेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड राखेर प्रमाणीकरण गराइसकेपछि नागरिकता, राहदानी वा मतदाता परिचयपत्रको विवरण एपमा राख्नुपर्ने हुन्छ ।
सम्बन्धित सरकारी निकायमा रहेको विवरण र प्रयोगकर्ताले राखेको विवरण जस्ताको त्यस्तै रुपमा मिलेको खण्डमा मात्र यो एपमा विवरण सफलतापूर्वक प्रमाणीकरण हुने गर्छ ।