झारफुकका नाममा झाँक्रीको कुटाइबाट गुल्मीमा एक व्यक्तिको ज्यान गयो

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


तम्घास । गुल्मीमा झारफुकका नाममा झाँक्रीको कुटाइबाट एक पुरुषको ज्यान गएको भने अन्य दुईजना गम्भीर घाइते भएका छन्।

गुल्मीको रेसुङ्गा नगरपालिका–१, ओख्रेनी तीनधारामा ६४ वर्षीय रामबहादुर मुखिया शरीरभरि निलडाम रहेको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार ईश्मा गाउँपालिका–३, दर्लामचौर बस्ने मुखिया ढाड दुख्ने समस्या देखिएपछि धामी ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र शान्तिला श्रेष्ठको घरमा पुगेका थिए।

उनीहरुले मुखियालाई झारफुक गराएर निको बनाउने बहानामा शरीरभरि आगोले पोलेको पाइएको प्रहरीले जनाएको छ।

अन्य दुईजनाको पनि शरीरका विभिन्न भागमा डढेका नीला डामहरू पाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा रेसुंगा नगरपालिका– ५ की ४० वर्षीया टोपला दलाई र मृतकका छोरा ३४ वर्षीय हुमबहादुर मुखिया छन् । मृतक रामबहादुरलाई ढाड दुख्ने समस्या थियो।

घाइते दुवैजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । घटनामा संलग्न श्रेष्ठदम्पतीलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान थालिएको छ।


प्रतिक्रिया दिनुहोस्