दुईटा हेलिकप्टर लिएर बिहानै सगरमाथा आधार सिबिर पुगेका थिए भारतीय पत्रकार

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


काठमाडौं । भारतीय टेलिभिजन जी न्यूजमा सगरमाथा पुगेर बनाएको एक सामाग्री बुधवार दिनभर जसो सामाजिक सञ्जालमा चर्चा र आलोचनाको विषय बन्न पुग्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको टेलिभिजनबाट नेपालमा रहेको सगरमाथामा भारतीले दाबी गर्नुपर्ने उत्तेजक सामाग्री प्रसारण भएको थियो ।

भारतीय पत्रकार सुधिर चौधरीसँग प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्तामा राखेको अडान, स्पस्टतालाई भोलिपल्टै उक्त टेलिभिजनमा प्रसारित सगरमाथाबारेको सामाग्रीले छायाँमा पारेको छ ।

सगरमाथाको बेसक्याम्पमा बसेर जीन्यूजका पत्रकार चौधरीले सगरमाथालाई भारतले पनि दाबी गर्नुपर्ने र यसको उचाई भारतीय नागरिक राधानाथ सिकन्धरेले नापेकाले उनकै नाममा नामाकरण हुनुपर्ने भन्दै सगरमाथाको नाम फेरिनुपर्ने माग गरेका छन् । जसको चर्को आलोचना नेपालीहरुले सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले जी न्यूजमा प्रसारण भएको उक्त सामाग्रीका बारेमा कुनै बहस र चर्चा गर्न आवश्यक नै नभएको तर्क गरिरहेका छन् तर कतिपयले भने भारतीय हेपाह प्रवृत्ति भन्दै विरोध गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादी देखिनका लागि यसअघि आफूविरुद्ध कपोकल्पित समाचार सामाग्री प्रसारण गरेको टेलिभिजन जी न्यूजलाई रोजेपछि त्यसको परिणाम सगरमाथामा पुगेर देखिएको भन्दै कतिपयले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष प्रचण्डले जी न्यूजमा प्रधानमन्त्रीको अन्तर्वार्ता नाटक भएको भन्दै त्यसको पटाक्षेप आज सगरमाथामा देखिएको टिप्पणी गरेका छन् ।

यसरी सगरमाथा पुगे चौधरी

जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरी आइतबार सगरमाथा क्षेत्रमा पुगेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार सिम्रिक एयरका दुई वटा हेलिकप्टर गत आइतबार बिहान ८ बजेर ४५ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएका थिए ।

त्यहाँ पुगेको ९ मिनेटपछि दुवै विमान सगरमाधाको आधार शिविर मानिने नाम्चेभन्दा केही माथि रहेको होटल एभरेस्ट भ्यु एचईभीका लागि उडेका थिए । एचईभी पुगेपछि दुवै हेलिकप्टर कालापत्थर क्षेत्रमा पुगेका थिए । दुवै विमान त्यस दिन बिहान ११ बजेर ३९ मिनेटमा लुक्ला विमानस्थलमा फर्किएका थिए ।

सिम्रिकसँग स्पष्टिकरणको तयारी

जी न्यूजका सम्पादक चौधरीले बिनाअनुमति सगरमाथा क्षेत्रमा गएर छायांकन गरेकोबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिम्रिक एयरसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएर छायांकन गर्दा अनुमति लिनुपर्ने तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था रहेको विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले जानकारी दिएका छन् ।

बिनाअनुमति सगरमाथा क्षेत्रमा छायांकन गरेको पुष्टि भएपछि विभागले जी(न्यूजको टिमलाई त्यहाँसम्म लैजाने हवाई सेवा कम्पनीसँग स्पष्टीकरण सोध्न लागेको उनले जानकारी दिए ।

विदेशबाट आएकालाई नेपालको कानूनबारे जानकारी नहुने भएपनि उनीहरुलाई सहयोग गर्ने नेपाली पक्षलाई त्यसबारे जानकारी हुने र उनीहरुले सम्बन्धीत पक्षलाई जानकारी गराउनुपर्ने उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्