काठमाडौंमा ५२ वर्षीय पुरुषको हत्या, हत्या गर्ने व्यक्तिले गरे प्रहरीलाई फोन !

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


काठमाडौं । मंगलबार काठमाडौं प्रहरीको कन्ट्रोल (१०० नम्बर)मा एउटा फोन आयो । फोन गर्ने व्यक्तिले चन्द्रागिरी नगरपालिका–४ थानकोट (घुमाउने) बस्ने ५२ वर्षीय होमबहादुर सुधार अचेत अवस्थामा रहेको जानकारी दिए ।

फोनमार्फत प्राप्त जानकारीका आधारमा महानगरीय प्रहरी बृत्त थानकोटको टोलीले थानकोट घुमाउनेबाट होमबहादुरको उद्धार गरेर उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्प्ताल पठायो ।

केही गह्रङ्गो बस्तुको प्रहारबाट घाइते भएका होमबहादुरको उपचारकै क्रममा मृत्यु भयो ।

होमबहादुरको मृत्यु पछि कसैले उनको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडि बढायो ।

हात्यमा संलग्न भएको आशंकामा प्रहरीले चन्द्रागिरी नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति नै पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार तामाङले नै होमबहादुर अचेत अवस्थमा रहेको भन्दै कन्ट्रोल (१०० नम्बर)मा फोन गरेका थिए ।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले ‘अपराध’ स्वीकार गरेका छन् । लेनदेनसम्बन्धी विवाद बढ्दा आफूले होमबहादुरलाई कोदालोको बिडले हिर्काएको तामाङले प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरीले पक्राउ परेका तामाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्