एजेन्सी । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ ।
ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको छ भने कम्तिमा सात दिन नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको छ।
युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स छन् ।
यसअघि चर्चित दुई सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले ट्रम्पका खाता निलम्बन गरेका थिए ।
गत साता अमेरिकी संसदमा ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले हिंसा फैलाएपछि ट्रम्पविरूद्ध सामाजिक सञ्जालहरूले प्रतिबन्ध लगाउन थालेका हुन् ।
राष्ट्रपति चुनावको मतपरिणाम प्रमाणीकरण गर्न बसेको बैठकमा ट्रम्प समर्थकले हिंसा भड्काउँदा पाँच जनाको मृत्यु भएको थियो ।