भारतीय मिडियामा प्रधानमन्त्रीको अन्तर्वार्ता– तारिफदेखि आशंकासम्म

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । भारतीय संस्थापन पक्षका मानिने टेलिभिजन जी न्यूज र वीओनलाई दिएको अन्तर्वार्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा रहेका छन् ।

सामाजिक सञ्जालमा उनको पक्षमा र विपक्षमा चर्चा जारी रहेको छ ।

सोमबार राति प्रसारण भएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले स्पष्ट र आत्मविश्वासका साथ प्रस्तुतिकरण दिएको भन्दै उनको प्रशंसा भइरहेको छ भने आलोचना गर्नेहरुले भने यसलाई प्रायोजित भनिरहेका छन् ।

नेपाली राजनीतिमा भारतको आलोचना गर्नेलाई वाहवाई दिने प्रचलन बनिसकेको छ जसको लाभ ओलीले लिएका छन् ।

जी न्यूजमा नेपालबारे तिखो टिप्पणी गर्दै आएका पत्रकारले सोधेको पहिलो प्रश्नको उत्तरमा नै सामाजिक सञ्जालमा बढी चर्चा परिचर्चा भइरहेको पाउन सकिन्छ ।

भारत नेपालभन्दा जनसंख्या र भूगोलमा ठूलो भएपनि ऊ ठूलो दाई भन्न नमिल्ने ओलीको जवाफ थियो ।

‘भूगोल र जनसंख्यामा ठूलो र सानो हुन सक्छौं । हामी सधै सार्वभौमिक समानताको कुरा गर्छौं । अर्थात, हामी ठूलो दाइ र सानो भाइ होइनौं । उमेरले मोदी र म सानो ठूलो भएपनि हैसियतका आधारमा दुबै जना प्रधानमन्त्री हुने र त्यसमा सानो ठूलो हुँदैन’ उनले अन्तर्वार्ताका क्रममा भनेका थिए ।

ओलीले अन्तर्वार्ताका क्रममा लिपुलेक कालापनी नेपालको भूभाग रहेको र भारतले नेपाली भूभाग राखेर नक्सा छापेर गल्ती गरेको बताएका थिए जसको प्रशंसा सामाजिक सञ्जालमा भइरहेको छ ।

नेपाली नेताहरु भारतले भनेअनुरुप अघि बढ्ने आरोप लाग्ने गरेको छ । राष्ट्रियताका विषयमा पनि भारतीय पक्षसँग नेपाली नेताहरु कमजोर र लाचाररुपमा प्रस्तुत हुने गरेको आरोप लाग्ने गरेको बेलामा ओलीको पछिल्लो अन्तर्वार्ताले उनको राष्ट्रवादी छवीलाई माथि लगेको टिप्पणी सामाजिक सञ्जालमा गरिएको छ ।

पहिलो पटक प्रधानमन्त्री भएको समयमा भारतले गरेको नाकाबन्दीको विपक्षमा डटेर लागेपछि ओलीको जनसमर्थन बढेको थियो ।

उनीप्रति आलोचनात्मक टिप्पणी गर्दै आएकाहरुले समेत ओलीको सोमबारको अन्तर्वार्ताको प्रशंसा गरेका छन् ।

ओलीले पूर्वीय दर्शन र आध्यात्मबारे दिएको प्रवचनको चर्चा भएको छ । ओलीले डटेर नेपालको पक्षमा बोलेको भन्दै सामाजिक सञ्जालमा कतिपयले प्रशंसा गरिरहेका छन् ।

नेपाली कांग्रेसका नेता लोकेश ढकालले लेखेका छन्, ‘जी न्युजको डीएनएमा कार्यक्रम प्रस्तोता सुधीर चौधरीसँग प्रम केपी ओलीको अन्तर्वार्तामा उनको प्रस्तुतीलाई म स्यालुट गर्छु । उनको सबै विचारमा सहमति हुन नसकिएला, आफैंले भनेका छन्, टुटेफुटेको हिन्दी होला तर इतिहास र संस्कृतिको तथ्यसहित देशको स्वार्थमा उनको प्रस्तुति बेजोड थियो ।’

नयाँ शक्तिको वकालत गर्दै आएर केही समययता राजनीतिबाट बाहिरएका पूर्वाधारविज्ञ सूर्यराज आचार्यले ओलीका गुण–अवगुणमा प्रश्न उठाउन सकिए पनि मिडियासँगको सवाल–जवाफ स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रम केपी ओलीका गुण र अवगुण छन् नै,’ आचार्यले लेखेका छन्, ‘उनका महत्वपूर्ण निर्णय राष्ट्रहितका रणनीतिक लक्ष केन्द्रित भन्दा पनि सिर्फ तत्कालको लेनदेनको उदेश्यका लागि हो कि भनेर प्रश्न उठाउन पनि सकिएला। तर नेपालको स्वाभिमानको पक्षपोषण हुने गरी जी न्यूज टिभीको प्रश्नमा प्रम ओलीको सटिक जवाफ स्वागतयोग्य।’

लेखक जैनेन्द्र जीवनले नेपाली राजनीतिमा ओलीले गरेको गल्तीको बिरोध गर्न नछोड्न आग्रह गर्दै ओलीको अन्तर्वार्ताको भने प्रशंसा गरेका छन् ।

‘आन्तरिक राजनीतिमा एक पछि अर्को ‘बलन्डर’ गरिरहेकामा बिरोध गर्न नछाडौं,’ उनले लेखेका छन्, ‘तर जुन भारतीय मिडियाले उनको खेदो खन्यो, त्यसैलाइ आफ्नो राष्ट्रिय हित हुने र भारतीयहरुमा रहेको भ्रम चिर्ने गरेर नडराई अन्तरबार्ता दिएकोमा प्रधानमन्त्रीलाई धन्यबाद। बिरोध( समर्थन ‘मेरिट’मा गरौं, ‘मिसन’ बनाइ होइन’ उनले लेखेका छन् ।

राजनीतिक विश्लेषक तथा नेपाली कांग्रेसको नीति प्रशिक्षण विभागका सदस्य सचिव समेत रहेका पुरुषोत्तम दाहालले प्रधानमन्त्रीको अन्तर्वार्ता प्रशस्त सूचना र प्रमाणका आधारमा सन्तुलित ढंगले आएको टिप्पणी गरेका छन् ।

दाहाल लेख्छन्–प्रधानमन्त्रीको अन्तर्वार्ता बौद्धिकताले भरिएको, प्रशस्त सूचना, प्रमाणका आधारमा र सन्तुलित थियो । हिन्दी भाषामा उहाँको राम्रो दखल थाहा भयो । उहाँमा इतिहासको जानकारी पर्याप्त देखियो, समग्रमा राम्रो छ ।

नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले ट्विटरमा लेखेका छन्, ‘अब प्रम ओलीले दिन्दीमा बोल्नु गलत भो भनेर आन्दोलन गर्ने होलान् प्रचण्ड टोलीले । अथवा डा. रावलले नयाँ थेसिस लेख्लान् ओलीको लम्पसार राष्ट्रवादबारे । जनता त प्रम ठीक छन् भन्दैछन् ।’

आमरुपमा सामाजिक सञ्जालमा धेरैले ओलीको प्रस्तुतीकरणलाई प्रशंसा गरिरहेपनि कतिपयले भने शंशय प्रकट गरिरहेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भने ओलीको प्रश्तुतीकरणलाई राष्ट्रवादी बनाउने देशी विदेशी चलखेलको रुपमा लिएका छन् ।

ओली प्रतिगमन’लाई मत्थर र विषयान्तर गर्न विदेश शक्ति लागेको दावी गरेका छन्।‘ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्री र बाहिरी शक्तिहरूबाट गुथाइनेछ,’ उनले लेखेका छन्, ‘नेपाली जनता र देशलाई उही निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाइनेछ! चेतना भया!’

त्यस्तै नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले राजा महेन्द्रको पनि बेला–बेला खरो राष्ट्रवादीका रुपमा उत्रिने गरेको भए पनि उत्तिनै बेला झुक्न पनि तयार हुने गरेको बताउँदै ओलीप्रति पनि आशंका गरेका छन्। ।

‘राजा महेन्द्र भारतसँगको सम्बन्धमा बराबर खरो राष्ट्रवादी देखिन्थे,’ उनको टिप्पणी छ, ‘कहिलेकाहिं सो अनुरूप राम्रो निर्णय पनि गर्थे। जस्तै, भारतीय चेकपोष्ट नेपाली भूमिबाट हटाए । तर जागिरकालमा नै सुनेको कुरा–तेस्तो कार्यको लगत्तै ‘माइ डियर इन्डिया’ भनेर पत्र लेख्न पनि सक्थे। ठीक बेठिक आ–आफ्नो मूल्यांकन’ उनले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्