वुहानका कोरोना संक्रमितमा निको भएको ६ महिनापछिसम्म असर: अध्ययन

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  २ : ०८


काठमाडौं । कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा संक्रमण निको भएको ६ महिनासम्म पनि असर देखिएको अध्ययन रिपोर्ट सार्वजनिक भएको छ ।

कोरोना भाइरस (कोभिड– १९) संक्रमणपछि अस्पताल भर्ना भएका धेरै बिरामीले अझै पनि अनेक समस्या व्यहोर्नुपरेको बताएका छन् ।

उनीहरूले थकान महसुस हुनु, निद्रा नलाग्नेजस्ता समस्या हुने गरेको बताएका छन् । यस्ता समस्या कोरोना संक्रमण निको भएको ६ महिनापछिसम्म पनि देखिएको एक अध्ययनले देखाएको छ ।

यो अध्ययन कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहान सहरमा गरिएको हो । कोरोना भाइरस संक्रमण देखिएको र निको भएर घर फर्किएका १७ सय बिरामीमा गरिएको अनुसन्धानमा ७६ प्रतिशतले निको भएको महिनौँसम्म पनि विभिन्न स्वास्थ्य समस्या देखिएको जवाफ दिएका छन् ।

अध्ययनले संक्रमण निको भइसकेपछि पनि यसले लामो समयसम्म असर देखिन सक्ने तथ्य देखाएको छ ।

कोरोना भाइरसबाट हालसम्म विश्वभरि ९० मिलियन मान्छे संक्रमित भइसकेका छन् । यी व्यक्तिहरूमध्ये धेरैमा लामो समयसम्म यस्ता समस्या देखिन सक्छ ।

कोरोना भाइरसबारे गरिएको अहिलेसम्मकै ठूलो यो अध्ययन शुक्रबार द लान्सेन्ट मेडिकल जर्मलमा प्रकाशित भएको हो ।

अध्ययनमा समेटिएका व्यक्तिहरूमध्ये ६३ प्रतिशतमा थकान महसुस हुने समस्या देखिएको छ भने २६ प्रतिशतमा निदाउन समस्या हुने देखिएको छ ।

यो अध्ययन अनुसन्धानले संक्रमणले अरू मानसिक समस्यासमेत थप्न सक्ने देखाएको छ । अध्ययनमा एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्या देखिन सक्ने औँल्याएको छ ।

अध्ययनमा सहभागी १७ सयमध्ये २३ प्रतिशतले एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्या लामो समयसम्म देखिएको जनाएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार संक्रमणका कारण लामो समयसम्म बिरामी भएकाहरूमा फोक्सो खराब हुने सम्भावना देखिएको छ ।

‘कोभिड– १९ नयाँ रोग भएकाले यसले लामो समयसम्म पार्ने असरबारे हामी भर्खरै जान्दै छौँ,’ अनुसन्धान टोलीको नेतृत्व गरेका चाइना–जापान फ्रेन्डसिप हस्पिटल र क्यापिटल मेडिकल युनिभर्सिटीका डा। बिन काओले भनेका छन्, ‘हाम्रो अनुसन्धानले संक्रमित बिरामीले निको भएर अस्पताल छाडिसकेपछि पनि भाइरसको कुनै न कुनै असरसँगै जीवन जिउनुपरेको छ । यसले संक्रमण निको भइसकेपछि पनि उनीहरूको ख्याल गर्न आवश्यक देखाएको छ । संक्रमणबाट गम्भीर बिरामी परेर पनि निको भएकाहरूलाई अझ धेरै हेरचाह गर्न आवश्यक पर्छ । थप धेरै जानकारीका लागि अझ ठूलो स्तरमा यस्तो अनुसन्धान गर्न आवश्यक देखिएकोे छ ।’


प्रतिक्रिया दिनुहोस्