चीनको बेइजिङमा १० लाख बढीलाई दिइयो कोरोना खोप

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ५२


काठमाडौं । चीनको राजधानी बेइजिङमा मात्रै १० लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ। उनीहरु सबैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ। कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ।

आयोगका उपनिर्देशक गोओ जियनले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ।

कोरोनाविरुद्धको खोप लगाउँदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ।

स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो।

फेब्रुअरी १२ मा चिनियाँहरूको महत्त्वपूर्ण पर्व ‘स्प्रिङ फेस्टिवल’ पर्ने भएकाले त्यस अगाडि नै खोप लगाउने अभियान सम्पन्न गर्ने महानगरका अधिकारीहरुको तयारी छ।


प्रतिक्रिया दिनुहोस्