जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि : मन्त्री अर्याल

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ५४


कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि भएको बताएका छन्।

मन्त्री अर्यालले भने, “पाँच वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय लिनुभो।”

गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा सङ्घले आज आयोजना गरेको बृहत् युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले सो कुरा बताएका हुन। उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताए।

“पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो। विचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झिएपछि अहिलेको यो अवस्थामा आउनपुग्यो”, उनले भने।

सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमीन फिर्ता लिने कार्य अगाडि बढाएपछि आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताए।

नेपालले पहिलोपटक आफ्नै लगानी, स्रोतसाधन र जनशक्तिमा सगरमाथाको उचाइ मापन गरे पनि त्यसलाई आफ्नै देशमा गलतरुपमा व्याख्या गर्ने गरिएको समेत उनले बताए।


प्रतिक्रिया दिनुहोस्