संविधानको मर्म र भावनाको रक्षामा जुट्न अध्यक्ष नेपालको आग्रह

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : २९


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताको रक्षाका लागि सबैलाई आग्रह गरेका छन।

नागरिक समाजले आज आयोजना गरेको नागरिक भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानको मर्म र भावनाको रक्षाका लागि राजनीतिक दल र नागरिक समाजलाई अनुरोध गरे।

नेकपाको संस्थापन पक्ष आफूहरु नै भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगलाई समेत त्यसबारेमा जानकारी गराइसकिएको तथा आधिकारिता दिन आग्रह गरिएको बताए।

उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकाले कुनै एक व्यक्तिका भरमा पार्टी नचली विधानसम्मत चल्ने स्पष्ट पारे।

प्रतिनिधिसभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको जिकिर गर्दै उनले देशलाई लोकतन्त्र र स्थायित्वका बाटामा लैजान सबै परिवर्तनकर्मी शक्तिबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बताए।

आधिकारिता टुङ्ग्याउन आग्रह

नेकपाको सो समूहले संविधान, कानून र विधिका आधारमा पार्टीको आधिकारिता टुङ्गो लगाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ।

नेता लीलामणि पोखरेलका अनुसार संविधान, राजनीतिक दलसम्बन्धी ऐन र विभाजनअघिको पार्टीको विधानमा लेखिएक आधारमा निर्णय गर्न आयोगलाई अनुरोध गरिएको छ।

आयोगका पदाधिकारीसँग सो समूहका अध्यक्षद्वय नेपाल र पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत नेताले सोबारे छलफल गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस्