काठमाडौं । श्रोत नखुलेको ३७ लाख रुपैयाँ नगद र ७ लाख बढीको चेकसहित काठमाडौंमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका नम्बर ६ घर भएका २६ वर्षीय राम कुमार गुरुङ छन् ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९१३९ नम्बरको हाईस गाडीलाई चेक जाँच गर्ने क्रममा गुरुङ पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गुरुङले बोकेको झोलामा नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक भेटिएको हो ।
प्रहरीले पक्राउ परेका गुरुङ र उनको साथबाट बरामद भएको नगदका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।