जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेकोमा मनिषा कोइरालाले जनाइन् आपत्ति

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : ५७


काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पृथ्वी जयन्तीको अवसरमा आयोजित जुलुसमा प्रहरी धरपकड गराइएकोमा आपत्ति जनाएकी छन्।

सोमबार पृथ्वी जयन्ती मनाउन काठमाडौंको भद्रकालीमा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।

सो क्रममा झडप हुँदा एक महिला घाइते भएकी छन्।

भद्रकालीबाट सिंहदरबारको मुल गेटअघि पृथ्वीको शालिक रहेको स्थानतर्फ जाँदै गरेको समुहलाई प्रहरीले बीचमा रोकेपछि तनाव सिर्जना भएको थियो।

अभिनेत्री कोइरालाले सरकारी दमनको विरोध जनाएकी छन्।

‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ। तर, उसको व्यवहार ठीक उल्टो देखियो,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘पृथ्वी नारायणको सालिक अगाडि नै सरकार को यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?’


प्रतिक्रिया दिनुहोस्