कुवेत पठाइदिने भन्दै नेपाली महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १ : ५९


काठमाडौं । कुवेतमा घरेलु काममा लगाइदिने भन्दै नेपाली महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मा छन् ।

प्रहरीका अनुसार उनले पछिल्लो समय २०७६ फागुनमा एक नेपाली महिलालाई बेचबिखन गर्ने उद्देश्यले श्रीलंका पुर्‍याएका थिए ।

अमृतले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई त्यहाँका एजेन्टहरुको घरमा बन्धक बनाएका थिए ।

श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् ।

नेपाल फर्केपछि पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले अमृतको खोजी शुरु गरेको थियो ।

मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई उनको झापास्थित घरबाटै पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्