केटीको विषयमा झगडा हुँदा आफ्नै साथीको हत्या, काठमाडौंबाट भागेका युवक चितवनबाट पक्राउ

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : १९


काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चिसेनीस्थित छैलुङ गुम्बा नजिकको सार्वजनिक बाटोमा एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ स्थायी घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ रुद्रेश्वर चोक बस्ने २१ वर्षीय राज सिंह ठकुरी छन् ।

प्रहरीका अनुसार ठकुरीले गत बिहीबार (पुस २३ गते) बुढानीलकण्ठ नगरपालिका–१ चिसेनीस्थित गुम्बा नजिकको सार्वजनिक बाटोमा बुढानीलकण्ठ नगरपालिका–६ बस्ने २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार गरेका थिए ।

ठकुरीले चुक्कु प्रहार गरी गम्भीर घाइते बनाएका तामाङलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, उपचारकै क्रममा तामाङको पुस २६ गते (आइतबार) मृत्यु भएको थियो ।

प्रहरीका अनुसार ठकुरी र तामाङ मिल्ने साथी हुन् । गत बिहीबार (पुस २३ गते) उनीहरु रमाइलो गर्न भन्दै बुढानीलकण्ठ माथिको चिसेनी डाँडामा गएका थिए ।

चिसेनी डाँडामा सुशील र राजसँगै लाक्पा शेर्पा पनि गएका थिए । चिसेनी डाँडामा लाक्पाले ‘दाई’ भन्ने गरेका उमेश तामाङलाई पनि बोलाएका थिए ।

चिसेनी डाँडामा बसेर चारै जनाले छ्याङ पिए । छ्याङ पिउँदा पिउँदै एउटा केटीको प्रसंगमा कुरा हुँदा लाक्पाले दाई भनेर ल्याएका उमेश तामाङ र ठकुरीबीच विवाद बढेको थियो ।

प्रहरीका अनुसार उमेशले आफ्नी प्रेमीकासँग किन नजिकिएको भन्दै ठकुरीसँग विवाद गरेका थिए ।

झगडा बढ्ने देखिए पछि उमेशले फोन गरेर आफ्ना साथीहरुलाई बोलाएका थिए । तर पछि बिवादकै बीच चारै जना त्यहाँबाट हिँडेका थिए ।

चिसेनी डाँडाबाट निस्किने क्रममा राज ठकुरीले भने एउटा होटलबाट चक्कु समेत बोकेका थिए ।

पछि राज ठकुरी र उमेशका साथीबीच हात्तीगौंडा माथिको बाटोमा भेट भयो । छ्याङ पिएर मातेका राजले उमेशका साथीहरु भन्दै आफ्नै साथी सुशीलको पेटमा चक्कु घोपे ।

उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिए पनि घटनाको चौथो दिन आइतबार उपचारकै क्रममा सुशीलको मृत्यु भयो । प्रहरीका अनुसार चिकित्सकहरुले सुशीलको पेटमा प्रहार गरिएको चक्कुले मिर्गौलामा समेत चोट लागेको बताएका छन् ।

तामाङमाथि चक्कु प्रहार गरेपछि ठकुरीको खोजीमा जुटेको प्रहरीले उनलाई चितवनको पिप्ले भन्ने स्थानबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिहान पिप्लेबाट पक्राउ गरी काठमाडौं ल्याएको छ ।

चितवनमा पक्राउ परी काठमाडौं ल्याइएका ठकुरीमाथि कर्तव्य गरी ज्यान मारेको कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्