कार्यकर्तालाई ओलीको सर्कुलर- प्रचण्डले पार्टी र सरकार अवैधानिक रुपमा कब्जा गर्न खोजेका थिए

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ३०


काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले पार्टीका तल्लो तहसम्मका सदस्यलाई अन्तरपार्टी निर्देशन (सर्कुलर) पठाएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि प्रतिनिधिसभा विघटनको अवस्था आएको जानकारी ओलीले तल्लो कमिटीसम्म पठाएका छन् ।

केन्द्रीय कमिटी बैठकका निर्णय जानकारी गराउन पठाइएको सर्कुलरमा राजनीतिलाई पद,पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने प्रचण्डको स्वार्थी चिन्तनले पाटीलाई विभाजनको अवस्थामा पु¥याएको दावी गरिएको छ ।

सर्कुलरमा भनिएको छ,’यस परिस्थिति निर्माणका लागि प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने,नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंशकारी मनशाय मुख्य जिम्मेवार छ । पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरुमा अन्तर्निहीत अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ ।’

ओलीले पुस ४ गते आफू प्रचण्ड निवास खुमलटार पुगेर सहमतिको अन्तिम प्रयास गर्दा पनि प्रचण्डले दुरासययुक्त आरोपपत्र फिर्ता लिन नमानेको र उल्टो राजीनामा गर्नु पर्ने हठ नछाडेको सर्कुलरमा उल्लेख छ । अरुलाई बैठकमा अल्मल्याएर प्रचण्डहरुले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न सांसदहरुको फर्जी हस्ताक्षर बोकेर दौडेपछि विघटन गर्नुपरेको कार्यकर्तालाई जानकारी दिइएको छ ।

सर्कुलरमा भनिएको छ–पुस ४ गते प्रचण्ड निवास खुमलटारमै पुगेर दुराग्रहयुक्त प्रस्ताव फिर्ता लिन,पार्टीको विशेष महाधिवेशनको तयारी गर्न र कमरेड वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णयका लागि सहयोगी बन्न बारम्बार आग्रह गर्नुभयो । तर कमरेड प्रचण्डले यी सबै प्रस्तावलाई अस्वीकार गर्दै तत्काल राजिनामा गर्नुपर्ने हठ गरिरहनुभयो ।

ओली पक्षको सर्कुलरमा प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई अध्यक्षबाटे हटाउने प्रस्ताव पार्टीको कुनै कमिटीमा निर्णयार्थ प्रस्तुत गर्ने आँट नगरेको र संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्री परिवर्तन गर्ने सहज बैधानिक बाटो पनि अलम्बन गर्न नसकी षड्यन्त्र गरेको उल्लेख छ ।

कार्यकर्तालाई कुनै अलमलमा नरहन भन्दै ओली पक्षले प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा अप्रत्याशित रुपमा प्रधानमन्त्रीविरुद्ध पेश गरेको अभियोगत्रनै पार्टी विभाजनका लागि ल्याइएको सर्कुलरमा उल्लेख छ ।

प्रचण्डहरुले महाधिवेशन समेत नपर्खिने भएपछि ओलीले सीमित प्रतिनिधित्व र नेतृत्व परिवर्तनको म्याण्डेट सहितको एकताको विशेष महाधिवेशन यथाशीघ्र अयोजाना गर्न प्रचण्डलाई आग्रह गर्दा पनि नमानेको सर्कुलरमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्