इन्डोनेशिया विमान दुर्घटना: ब्ल्याक बक्स निकाल्ने प्रयास जारी

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : १५


इन्डोनेशियामा समुद्रमा दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानको ब्ल्याक बक्स खोजी गर्ने कार्य सोमवार फेरि हुन लागेको छ ।

शनिवार उडेको केही बेरमै हराएको श्रीविजया एअरको बोइङ ७३७ मा चालकदलका सदस्यसहित कुल ६२ मानिस थिए। राजधानी जकार्ताबाट बोर्निओ द्वीपका लागि उडेको उक्त यात्रुवाहक विमान रेडार सम्पर्कबाट अकस्मात् हराएको थियो ।

खोजी कार्यमा जुटेको टोलीले विमानका केही पाटपुर्जा तथा मानव अवशेष फेला पारिसकेका छन् ।

अनुसन्धानका लागि महत्त्वपूर्ण डेटा उपलब्ध गराउन सक्ने ब्ल्याक बक्स रहेको स्थान पत्ता लागिसकेको छ ।

इन्डोनेशियाको राष्ट्रिय यातायात सुरक्षा समितिका एक अनुसन्धानकर्ताले समाचारसंस्था रोएटर्सलाई आफूहरूले सोमवारसम्ममा ब्ल्याक बक्स फेला पार्ने आशा गरेको बताएका छन् ।

अहिले अनुसन्धानकर्ताहरूले विमानको पाङ्ग्रा लगायतका अन्य केही भाग भन्ठानिएका सामग्रीको विश्लेषण गरिरहेका छन्। विमानको एउटा इन्जिनको टर्बाइन पनि फेला परेको बताइएको छ ।

दुर्घटनामा परेका कोही पनि जीवित फेला पर्न सक्ने सम्भावना नभएको देखिएको छ ।

शनिवार दिउँसो श्रीविजया एअरको विमान जकार्ताबाट स्थानीय समयानुसार १४:३६ मा उडेको थियो ।

उडानहरूको विवरण राख्ने वेबसाइट फ्लाइट राडरका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान आकाशबाट ह्वात्तै ३,००० मिटरभन्दा तल ओर्लिएको थियो।
प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन् ।

विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालकदलका १२ सदस्य रहेको बताइएको छ ।
विमानको क्षमता भने १३० यात्रुको थियो ।
अधिकारीहरूका अनुसार विमानमा सवार सबै जना इन्डोनेशियाली नागरिक नै थिए ।


प्रतिक्रिया दिनुहोस्