पृथ्वी जयन्ती: आज यी-यी स्थानीय तहमा बिदा

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ४४


काठमाडौं । २९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहहरूले आज सार्वजनिक बिदा दिएका छन्।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्।

गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछ। पृथ्वी जयन्तीको अवसरमा गोरखामा आज अन्तर्क्रिया, दौडलगायत कार्यक्रम छ।

गोरखा संग्रहालयभित्र रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ।

यस्तै राप्रपाले आज गोरखामा पृथ्वी जयन्ती मनाउँदैछ। राप्रपा अध्यक्ष कमल थापा उक्त कार्यक्रममा सहभागी हुँदैछन्।

त्यस्तै आज तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताए ।


प्रतिक्रिया दिनुहोस्