ओलीलाई निरंकुश र अधिनायकवादी चरित्र रोक्न प्रचण्ड-माधव पक्षको चेतावनी

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ५२


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न निर्देशन दिएको छ ।

आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकका निर्णयबारे जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको जानकारी दिए ।

मुख्यत चार जना पूर्व प्रधानन्यायाधीशले हालै देश, जनता, संविधान र निष्ठाका कारण प्रतिनिध सभा विघटनबारे सार्वजनिक दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमान गर्ने र धम्क्याउने कार्य गरेको भन्दै त्यसलाई प्रतिवाद गर्दै भर्त्सना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संवैधानिक अधिकार र स्वतन्त्रताका लागि सबैलाई एकजुट गर्न र रक्षा गर्न आव्हान गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले भने ‘आफूलाई लागेका अभिव्यक्ति दिने हक सबैलाई छ। अभिव्यक्ति दिएकै कारण धम्क्याउने कार्यको बैठकले भर्त्सना गरेको छ। साथै सम्पूर्ण बुद्धिजिवी, प्रबुद्ध व्यक्तित्व, सचेत नागरिक र कालाकारहरुलाई प्रधानमन्त्री ओलीको यो कदमविरुद्ध एकजुट भएर लड्न पार्टीले आह्वान गरेको छ।’

त्यस्तै बैठकले राज्यको साधन स्रोतको लगानीमा सञ्चालिन सरकारी सञ्चारमाध्यमहरुले कुनै गुटको प्रचारमा लागेको भन्दै त्यस्ता सञ्चारमाध्यमहरुलाई गुटको सेवा गर्ने काम बन्द गर्न माग गरेको छ ।

बैठकले ओलीको असंवैधानिक कदमका विरुद्धमा पार्टीले सञ्चालन गर्ने विरोधका कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्