पूर्व राजा ज्ञानेन्द्र शाहको वक्तव्य– गणतन्त्रबारे समीक्षा गर्न विलम्व भएन र ?

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : ३०


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक प्रणाली (संघीय गणतन्त्रामक व्यवस्था)बारे समीक्षा हुन विलम्ब भइसकेको बताएका छन् ।

पृथ्वी जयन्ती (पुस २७)को अघिल्लो दिन आइतबार (पुस २७ गतेकै मितिमा)  एक वक्तव्य जारी गर्दै पूर्व राजा शाहले अहिलेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकूल छ ? भन्ने विषयमा समेत प्रश्न उठाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले राजगद्दी त्याग्ने आफ्नो कार्यलाई उच्च साहस र इमान्दारीको रुपमा अर्थ्याएका छन् ।

जनचाहन बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराका विषेशता भएको तथ्य कसैबाट पनि नछिपेको उल्ल्ेख गर्दै गर्दै शाहले आफ्नो वक्तव्यमा भनेका छन्, ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन् ।’

आफ्ना निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको जिकिर गर्दै शाहले वर्तमान राजनीतिक प्रणाली (संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था) बारे समीक्षा गर्न विलम्ब भइसकेको (घुमाउरो भाषा)मा चेतावनी समेत दिएका छन् ।

‘हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भइसकेको छ,’ पूर्वराजा शाहले आफ्नो वक्तव्यमा भनेका छन् ।

‘राष्ट्रि एकता दिवस’ समेत भन्ने गरिएको पृथ्वी जयन्तीको सार्थकता दर्शाउँदै पूर्व राजा शाहले भनेका छन्, ‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्छ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहनेछ ।’


प्रतिक्रिया दिनुहोस्