‘प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैन’ भन्दै सम्झाउने नेम्वाङमाथि आइपरेको दुःख !

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा राजनीतिक रुपमा विभाजित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता माधव कुमार नेपाल पक्षमा नेकपाका नेता कार्यकर्ता तल्लो तहसम्म विभाजित भइसकेका छन् । अहिलेसम्म पार्टी उपाध्यक्ष वामदेव गौतम कुनै पनि समूहमा लागेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको संसद विघटन गरेको भन्दै यसलाई संवैधानिक कू को रुपमा प्रचण्ड माधव समूह, नेपाली कांग्रेस लगायतका दलले भनिरहेका छन् । जसका बारेमा सर्वोच्च अदालतमा रिटसमेत परेको छ र आज संवैधानिक इजलासमा बहस जारी छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा पेश गरेको कारणमा संसद विघटन राजनीतिक विषय भएको उल्लेख गरेका छन् ।

मौन पूर्वसभामुख

तत्कालिन संविधानसभाका अध्यक्षसमेत रहेका कानूनका ज्ञाता सुवास नेम्वाङ यतिबेला निकै अफ्ट्यारोमा परेका छन् । किनकी उनी पार्टीमा केपी ओली पक्षधर हुन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उनले ‘यो गलत भयो’ भन्ने टिप्पणी गरेका छैनन् बरु उनी ‘अदालतमा विचाराधिन विषय’भन्दै पन्छदै आएका छन् ।

संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाई सर्वोच्चमा जारी रहँदा सामाजिक सञ्जालमा भने एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जहाँ संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङले वर्तमान संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भनिरहेका छन्, तर परिस्थिति भने उनको प्रतिकुल देखिएको छ ।

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको भएपनि ओलीले संसद विघटन गरिदिएका छन् र नेम्वाङ उनकै विश्वासपात्रको रुपमा रहेका छन् । नेम्वाङले संसद विघटनको विरोध वा समर्थन सार्वजनिक रुपमा गर्न सकिरहेका छैनन् ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले त नेम्वाङलाई कहाँ लुक्नु भएको भन्दै प्रश्न समेत गरेका छन् ।

बुधबारबाट प्रतिनिधिसभा विघटनको रिटहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सन्दर्भमा ट्वीटमार्फत थापाले प्रश्नको जवाफ दिन नसकेर नेम्वाङ लुकेर बसेको अवस्थामा अदालतले संविधानको वास्तविक व्याख्या गर्ने आशा व्यक्त गरेका हुन् ।

संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गर्दा कुनै प्रतिक्रिया नदिएको प्रति थापाले आक्रोश पोखेका हुन् ।

‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु। जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ’, थापाले अगाडि लेखेका छन्, ‘अफसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ । आफैले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ ।’

प्रधानममन्त्रीले संसद विघटन गर्न सक्दैनन् भन्ने नेम्वाङको भाइरल बनेको भिडियो तत्कालको भने होइन ।

नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषय गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदासमेत उल्लेख गरेका थिए ।

काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादमा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए र त्यही भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले त्यतिबेला नेपालको संसदीय प्रणाली विकृत बनेका कारण संविधानमा धेरै सुधार गरिएको उल्लेख गरेका थिए । नेम्वाङले विगतमा ५८ दिनसम्म संसद विघटन गर्ने अभ्यास गर्नु गलत भएको उल्लेख गरेका थिए ।

तर यतिबेला भने उनी संकटमा परेका छन् । पार्टी विवादका क्रममा ओलीलाई साथ दिँदै आएका नेम्वाङ ओली समूहमा नै छन् । यसको अर्थ के उनले यसअघि धुलिखेलमा भनेको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन भन्ने व्याख्याबाट उनी पछि हटेका हुन् ? केही दिनमा चित्र प्रस्ट बन्दै जाला ।


प्रतिक्रिया दिनुहोस्