कोरोनाका संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तलब नपाइए पछि आन्दोलनमा

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका सिराहाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरू तलब–भत्ता नपाइए पछि आन्दोलनमा उत्रिएका छन् ।

कोरोना संक्रमितको उपचारमा खटिएका मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीहरू तलब–भत्ताको माग गर्दै जिल्ला अस्पताल सिराहामा धर्नामा बसेका हुन् ।

सदरमुकाम सिराहाको चन्द्र माध्यमिक विद्यालयको आइसोलेसन, सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको छात्रावास आइसोलेसन र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा खटिएका चिकित्सक र प्राविधिकहरुले ५ महिनादेखिको तलब भत्ता नपाइएको बताएका छन् ।

५ मिहनादेखिको तलब–भत्ता नदिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको जनस्वासथ्य सहायक (एचए) ओमप्रभास ठाकुरले बताए ।

ती आइसोलेसनहरूमा कार्यरत चिकित्सक र प्राविधिकले गत असार महिनादेखि कात्तिकसम्मको तलब–भत्ता नपाएको बताएका छन् । आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र प्राविधिकले तलब–भत्तासहित कोभिड–१९ महामारीमा खटिएकोले पुनः नियुक्ति गरिनुपर्ने माग समेत राखेका छन् ।

सिराहा जिल्ला अस्पतालमातहत ९ जना मेडिकल अधिकृत, एचए, अहेव, स्टाफ नर्स, अनमी, प्रयोगशाला प्राविधिक, स्प्रे प्राविधिक, कार्यालय सहयोगी, ड्राइभर गरी ६६ जनाको तलब–भत्ता, खाना र होटेलमा वास बसेको रकम भुक्तानी हुन सकेको छैन ।

तलब–भत्ताको भुक्तानी र पुनः नियुक्ति गर्नुपर्ने आफूहरुको माग पूरा नभए जिल्ला अस्पताल ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्