सोफामा बस्न पनि सकिनन् प्रचण्ड पत्नी सीता, विमानस्थलमा छोरी रेणुको काखमा

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : ४६


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि भारत गएका छन् ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड सोमबार बिहान भारतको दिल्ली गएका हुन् । प्रचण्ड पत्नी सीताको उपचार मुम्बईमा हुने जनाइएको छ ।

प्रचण्ड सोमबार नै दिल्ली हुँदै मुम्बई जाने जनाइएको छ । काठमाडौंबाट मुम्बई सीधा उडान नहुने भएका कारण प्रचण्ड काठमाडौंबाट दिल्ली र दिल्लीबाट मुम्बई जाने जनाइएको छ ।

आइतबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नीको उपचारका लागि भारत जान लागेको जानकारी गराएका थिए ।

सीतालाई मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टीम थेरापी गराइने प्रचण्डको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । चिकित्सककै सल्लाहमा उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको थियो ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरिरहेकी थिइन् ।

सोमबार सीतालाई भारत लैजादै‌ गर्दा विमानस्थलमा ह्वील चियरमा लगिएको तस्वीर सार्वजनिक भएको थियो । उक्त तस्वीरबाट नै सीताको अवस्था निकै कमजोर देखिएको छ । विमानस्थलको विशिष्ट कक्षमा प्रचण्ड परिवार रोकिएको थियो ।

कमजोरी र रोगका कारण शिथिल देखिएकी सीता विमानस्थलको विशिष्ट कक्षमा रहेको सोफामा समेत बस्न सकिनन् । उनी छोरी रेणु दाहालको काखमा सुतेको तस्वीर नेकपा नेत्री अमृता थापाले सामाजिक सञ्जालमा राखेकी छिन् । छोरो प्रकाशको निधन भएपछि सीता थप कमजोर बनेको नेकपाका नेताहरुले बताउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

जब विप्लव पुत्र प्रकाशले प्रचण्ड पत्नी सीतालाई अंगालो हाले…

 

 


प्रतिक्रिया दिनुहोस्