ट्रम्पले अधिकारीलाई ११,७८० भोट मिलाइदिन आग्रह गरेको कल रेकर्डिङ सार्वजनिक

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ४९


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक फोन रेकर्डिङ सार्वजनिक भएको छ जसमा उनी जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको व्यवस्था गरिदिन आग्रह गरिरहेका छन् ।

यो रेकर्डिङ वासिङ्टन पोस्टले जारी गरेको हो । यसमा राष्ट्रपति ट्रम्प रिपब्लिकन सेक्रेट्री अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग भनिरहेका छन्, ‘म ११,७८० भोट मात्रै खोज्न चाहन्छु ।’ यस्तै रेफनस्पर्जरले ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताइरहेका छन् ।

डेमोक्रेट उम्मेद्वारा जो बाइडेनले राष्ट्रपति चुनावमा जर्जिया प्रान्तमा जीत हाँसिल गरेका थिए । उनले कूल ३०६ इलेक्टोरल भोट जितेका थिए जबकी ट्रम्पले २३२ भोट पाएका थिए ।

मतदानलगत्तै राष्ट्रपति ट्रम्पले चुनावमा अत्यधिक मात्रामा धोका भएको आरोप लगाइरहेका छन् । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने पेश गरेका छैनन् ।

कल रेकर्डिङमा के छ ?

वासिङ्टन पोस्टले जारी गरेको कल रेकर्डिङमा राष्ट्रपति ट्रम्पले जर्जियाका सेक्रेट्री अफ स्टेटमाथि दबाब दिइरहेको सुन्न सकिन्छ ।आफूले जर्जियाको चुनाव जितेको कुरालाई उनले जोड दिएर भनिरहेको सुन्न सकिन्छ ।

यस्तै रेफेनस्पर्जर जवाफ दिन्छन्, ‘राष्ट्रपति महोदय, तपाईंको अगाडि चुनौती यो छ कि जुन डाटा तपाईं देखाइरहनुभएको छ, त्यो गलत छ ।’ राष्ट्रपति ट्रम्पले अधिकारीलाई सम्भावित कानूनी नतिजाको धम्की पनि दिन्छन् ।

उनी भन्छन्, ‘तिमीलाई थाहा छ, उनीहरुले के गरेका छन् ? यसबारे जानकारी नदिनु अपराध हो । तिमीले यस्तो हुन दिनेछैनौ । यो तिमी र तिम्रा अधिवक्ता रियानका लागि ठूलो खतरा हो ।’ राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरलाई राज्यको नतिजा पुनः समीक्षा गर्न आदेश दिन्छन् ।


प्रतिक्रिया दिनुहोस्