पत्नी सीताको उपचारका लागि भोलि भारत जाँदै प्रचण्ड

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ०२


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार भारत जाने भएका छन्।

पत्नी सीता दाहालको उपचारका लागि दाहाल भारत जान लागेको बताइएको छ।

आइतबार पेरिसडाँडामा बसेको नेकपा स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी दिएको एक नेताले बताए।

दाहाल पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन्।

स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि भोलि भारतको मुम्बई लैजाने तयारी गरिएको हो।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो। पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।

के हो दाहाल पत्नी सीतालाई देखिएको रोग ?

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) भनिन्छ।

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ। मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन्।

छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई यो रोगले झन च्यापेको छ।

 

 


प्रतिक्रिया दिनुहोस्