भारतको मुम्बई आक्रमणका ‘मुख्य योजनाकार’ पाकिस्तानमा पक्राउ

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ०८


इस्लामावाद । पाकिस्तानले आतंकवादी संगठन लस्कर ई ताइबा (एलईटी) संगठनका नेता जाकी अर रेहमान लेखभीलाई पक्राउ गरेको जनाएको छ ।

आतंकवादलाई वित्तीय सहयोग उपलब्ध गराउँदै आएको आरोपमा पाकिस्तानले लेखभीलाई पक्राउ गरेको हो । भारत र अमेरिकाले भने उनलाई सन् २००८ मा भएको मुम्बई आक्रमणका प्रमुख योजनाकार मान्दै आएका छन् ।

यद्यपि पाकिस्तानले भने कुनै आक्रमणमा संलग्न रहेको आरोपमा नभइ आतंकवादलाई वित्तीय सहयोग उपलब्ध गराउँदै आएको प्रमाण देखिए पछि उनलाई पक्राउ गरिएको स्पष्ट पारेको छ । लेखभीलाई पाकिस्तानको पञ्जाब प्रान्तको काउन्टर टेरोरिज्म डिपार्टमेन्ट (सीटीडी)ले शनिबार पक्राउ गरिएको बताइएको छ ।

सीटीडीका प्रवक्ताले दिएको जानकारीअनुसार लेखभीले लामो समयदेखि आतंकवादी गतिविधिका लागि कोष जुटाउने काम गर्दै आएका थिए । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सान्कसन कमिटीका अनुसार लेखभीमाथि इराक, अफगानिस्तान, बोस्निया एण्ड हर्जगोभिनालगायतका मुलुकहरुमा पनि आफ्ना गतिविधिहरु सञ्चालन गरेको आरोप छ ।

भारतीय अधिकारीहरुले लेखभी सन् २००८ को मुम्बई आक्रमणका एकमात्र जीवित दोषी रहेको दाबी गर्दै आएका छन् । उक्त आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो ।

भारतले पाकिस्तानलाई लेखभीमाथि कानुनी कारबाही अघि बढाउन दवाद दिँदै आएको थियो । तर, पाकिस्तानले भने मुम्बई आक्रमणमा लेखभीको संलग्नताबारे भारतले ठोस प्रमाण नदिएको बताउँदै आएको छ ।

लेखभी यसअघि सन् २००८ मा पक्राउ परेका थिए । तर, पछि जमानतमा रिहा भएका थिए ।


प्रतिक्रिया दिनुहोस्