एउटा विटक्वाइनको मूल्य ३९ लाख रुपैयाँभन्दा धेरै !

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड राखेको छ । विटक्वाइनको मूल्य पहिलोपटक ३४ हजार अमेरिकी डलर अर्थात् ३९ लाख नेपाली रुपैयाँभन्दा बढी भएको छ ।

शनिबार एउटा बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएमा आइतबार फेरि बढेर ३४००३.६६ अमेरिकी डलर पुगेको छ । केही साताअघि मात्रै पहिलोपटक बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नाघेको थियो ।

गएको वर्ष मात्रै बिटक्वाइनको मूल्य चौगुना भन्दा बढीले उकालो लागेको छ । यसको कारण यसमा लगानी गर्न इच्छुक लगानीकर्ता धेरै रहनु र बढ्ने क्रम जारी रहनु बताइएको छ ।

विज्ञहरूले अमेरिकी डलर अवमूल्यन हुने क्रम रहेको अवस्थामा यसको मूल्य अझ बढ्न सक्ने बताएका छन् ।

अमेरिकी डलरको मूल्य गत वर्ष मार्चमा कोरोनाभाइरसको कारण बढेको थियो । तर, त्यसयता अमेरिकी ढुकुटीबाट धेरै खर्च भएकोले यसको मूल्य घटेको छ ।

बिटक्वाइन अमेरिकी डलर वा अन्य मुद्रा झैँ प्रयोग हुन्छ । हालै ‘पेपल’ नामक अनलाइन पेमेन्ट गेटवेले बिटक्वाइनबाट कारोबार गर्न सकिने बनाएको थियो ।

तर क्रिप्टोकरेन्सीको मूल्य भने घटबढ भइरहने गर्छ ।

सन् २०१७ मा बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नजिक पुगेर घटेको थियो। बिटक्वाइनको सबैभन्दा कम मूल्य ३,३०० डलरसम्म पुगेको छ।

गत वर्ष नोभेम्बरमा १९ हजार अमेरिकी डलर नाघेपछि यसको मूल्य फेरि कम भएको थियो । एजेन्शी


प्रतिक्रिया दिनुहोस्