चार चरणमा कोरोना खोप लगाउने सरकारी तयारी

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : २९


काठमाडौं । नेपालमा कोरोना खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । देशले धान्न सक्ने खोप आएपछि कसरी र कुन समूहलाई लगाउने भनेर छलफल थालेको खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले गोरखापत्रलाई जानकारी दिए ।

नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । ‘अब छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेका छौँ’ गौतमले भने । त्यसका लागि हामीले खोप कसरी र कसलाई दिने भनेर छलफल सुरु गरेका छौँ’ उनले थपे ।

उनका अनुसार सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने समाचार आजको गोरखापत्रमा छापिएको छ । पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा शर्माले भने ।

उनका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ ।

५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ । ५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा शर्माले भने ।

तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ ।

१५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा शर्माले भने ।

अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदै छ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् ।

चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ । खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ ।

नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरी खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ ।


प्रतिक्रिया दिनुहोस्