भारतका पूर्व गृहमन्त्री बुटा सिंहको निधन

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १२ : ५४


काठमाडौं । भारतका पूर्व गृहमन्त्री एवं बिहारका पूर्व राज्यपाल बुटा सिंहको निधन भएको छ ।

शनिबार सिंहको दिल्लीमा ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कांग्रेस आइका नेता सिंह ८ पटकसम्म लोकसभा सदस्य बनेका थिए । उनी शिख समुदायको ठूला नेता समेत थिए ।

उनको आजै अन्तिम संस्कार गरिने परिवारिक स्रोतले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सन् १९३४ मा जालन्धर जिल्लामा जन्मिएका उनी भारतको केन्द्रीय राजनीतिका शीर्ष नेतामध्येका एक हुन् । उनी केन्द्रीय गृह, रेल, कृषि, खेल मन्त्रीसमेत बनेका थिए ।

भारतका प्रधानममन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘बुटा सिंह एक अनुभवी प्रशासकको साथसाथै गरिब र दलितको हितको लागि प्रभावकारी आवाज थिए । उसको मृत्युबाट दुःखी छु । उनको परिवार र समर्थकहरुप्रति मेरो संवेदना’, मोदीले ट्विटमा लेखेका छन् ।

कांग्रेस नेता राहुल गान्धीले पनि सिंहको मृत्युमा शोक व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्