बर्दिया निकुञ्जमा बाघले गर्‍यो सडकमा गुडिरहेको मोटरसाइकलमा आक्रमण, पछाडि बसेकी महिला बेपत्ता

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : १४


बर्दिया । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको सडकमा गुडिरहेको एक मोटरसाइकलमा बाघले आक्रमण गरेको छ ।

निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको अम्रेनी पोस्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा बाघले आक्रमण गरेको हो ।

मोटरसाइकलमा पछाडि बसेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ ।

आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर आक्रमण गरेको जनाइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिला अझैं फेला परेकी छैनन् ।

बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको थियो । शनिबार बिहानसम्म पनि खोजी जारी रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

तर अझैसम्म पनि महिलाको अवस्था पत्ता नलागेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

बाघले आक्रमण गरेपछि अबदेखि बेलुकाको समयमा निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताए ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्