कङ्गोको अति संवेदनशील वुनियामा पुन: तैनाथ भयो नेपाली सेना

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : ४१


काठमाडौं । विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघअन्तर्गत तैनाथ नेपाली सेनालाई पुन: कङ्गोको ईटुरी क्षेत्रमा खटाइएको छ ।

कङ्गोको अति संवेदनशील ईटुरी क्षेत्रको वुनियामा नेपाली शान्ति सैनिकलाई पुन: तैनाथ गरिएको हो ।

करिब १७ वर्ष अघि कङ्गोको उत्तरी भेगमा रहेको बुनियामा हेमा र लेण्डु जातिबीच हिंसा भएको थियो । त्यसपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिकलाई पहिलो पटक सो क्षेत्रमा तैनाथ गरेको थियो ।

शान्ति सुरक्षाको स्थितिमा सुधार आएपछि नेपाली शान्ति सैनिक द्वन्द्वग्रस्त कङ्गोको मध्य क्षेत्रमा रहेको वेनी र केही वर्षदेखी दक्षिण क्षेत्रमा रहेको बालुगुं ईलाकामा तैनाथ थियो ।

केही महिनादेखि कोडेको नामको विद्रोही समुहले वुनियामा हिंसा मच्चाएपछि नेपाली शान्ति सैनिकहरुलाई पुन: सो क्षेत्रमा तैनाथ गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले कङ्गोकै बालुगुं क्षेत्रमा तैनाथ टोलीलाई वुनिया क्षेत्रमा स्थानान्तरण गरिएको हो ।

सो क्षेत्रमा तैनाथ भवानी दल गणका गणपति प्रमुख सेनानी प्रभाकर खड्का र ईटुरी क्षेत्रका मेयर जीन वमाईन्सा साईडिबीच भेटघाट तथा शान्ति स्थापनाको सन्दर्भमा छलफल समेत भएको सैनिक प्रवक्ता सहायक रथी पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्