कतिलाई थाहा छ नेपालकै संस्कृतिमा आधारित ‘भ्यालेन्टाइ डे’ बारे ?

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ८ : २०


काठमाडौं । फेब्रुअरी १४ लाई प्रेम दिवस (भ्यालेन्टाइन डे) भनेर विश्वभर मनाइन्छ । धेरै नेपाली युवा पनि ‘भ्यालेन्टाइन डे’ मनाउँछन् । तर हामै्र संस्कृतिमा रहेको प्रेम दिवसबारे कतिपयलाई थाहा नहुन सक्छ ।

नेवार समुदायमा यःमरी पुन्ही (पूर्णिमा)को भोलिपल्टको दिनलाई ‘मतिना पारु’ अर्थात् माया गर्ने दिनको रूपमा लिने गरिन्छ । अहिले सामाजिक सञ्जालबाट यसबारे थाहा पाउनेको सङ्ख्या बढ्दै छ ।

चौधौँ शताब्दीको रोम राज्यबाट भ्यालेन्टाइन डे थालनी भएको हो । नेवारी समुदायमा युगौँदेखि मनाइने मतिना पारु पनि यस्तै प्रेमको कथामा आधारित छ ।

इतिहासविद् गणेशराम लाछीले भन्नुभयो, ‘भ्यालेन्टाइन डे जस्तै नेवार समुदायमा मतिना पारु मनाइन्छ । मतिना पारु भनेको प्रेम गर्ने दिन हो ।’

इतिहासविद् लाछीका अनुसार पुन्ही भन्नाले नेपालभाषामा पूर्णिमा भनेझैँ, त्यसको भोलिपल्ट पारु भन्नाले प्रतिपदा बुझिन्छ । लाछीका अनुसार ‘मतिना’ भनेको माया हो ।

यःमरी पुन्हीसँग सम्बन्धित थुप्रै संस्कार र संस्कृति छन् । खानाको लोकप्रिय परिकार यःमरीको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्यसँग सम्बन्ध राख्छ ।

यसको अर्को पक्ष भनेको माया पनि रहेको लाछीले बताए ।  इतिहासविद् तेजेश्वरबाबु ग्वंगःले पनि त्यस बेलाको समाज मायाप्रेमका विषयमा खुला नरहेको बताए ।

‘यसरी बन्धनले बाँधिएको समाजमा यःमरी पुन्हीका दिन टोलटोलमा यःमरी माग्न जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमीसँग सुटुक्क कुरा गर्ने चलन थियो,’ उनले भने ।

संस्कृतिविद् सत्यमोहन जोशीले नेवारी संस्कृतिमा यःमरी पुन्हीको भोलिपल्टको दिनलाई प्रेम दिवस अर्थात् मतिना पारु भनेर मनाइने गरेको बताए ।

उनले भने, ‘त्यस बेला अहिले जस्तो प्रेम प्रस्ताव राख्ने चलन थिएन । घरबाट तय भएको केटा वा केटीसँगै विवाह गर्नु पर्थ्यो । मन पराएको छ भने कुनै जात्रापर्वमा भेटघाट हुने मात्रै हो ।’

खुला रूपमा मनाउने चलन नभएकाले यो पर्व लोप भएको धारणा व्यक्त गर्दै जोशीले समाजको डर, परिवारको इज्जत जाने डरले यस्तो दिन खु्ला रूपमा नमनाइएको बताए ।

मिस नेवाः नितु महर्जनले आफूले पनि नेवाः संस्कृतिबारे अध्ययन गरेपछि मात्र ‘मतिना पारु’बारे थाहा पाएको जानकारी दिइन् ।

उनले भनिन्, ‘पश्चिमी संस्कृति हामीले चाँडै नै लिन्छौँ तर आफ्नो संस्कृतिको जगेर्ना भने गर्न भुल्छौँ । हामी युवापुस्ताले नै आफ्नो संस्कृति रक्षा गर्नुपर्छ ।’


– गोरखापत्रका लागि यलु जोशीले लेखेको समाचार


प्रतिक्रिया दिनुहोस्