जसले इन्स्ट्रागाम र ह्वाट्सएपमा साथी बनाएर १३ लाख लुटे

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ४५


काठमाडौं । सामाजिक संजाल इन्स्टाग्राम र वाट्स्‍एपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन् ।

उनीहरूले इन्स्टाग्राम र वाट्स्‍एपमा फेक आइडी मार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल ईन्जिनियर बताएर घनिस्टता बढाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आईफोन ११ मोबाईल, ल्यापटप र गोल्ड लगायत बहुमूल्य सामानहरुको बक्स गिफ्ट पठाई दिएको र भन्सार बापत रकम पठाउनु पर्छ भनेर प्रलोभन देखाएर उनीहरुले पीडितबाट पैसा माग्ने गरेका थिए । पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक-पटक गरी १३ लाख ३९ हजार रुपैयाँ रकम जम्मा गर्न लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा देखिएको छ ।

पीडित पक्षको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्