खुकुरी देखाएर काठमाडौंमा सहकारीका कर्मचारीलाई लुटपाट गर्ने ५ जना पक्राउ

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : २६


काठमाडौं । काठमाडौको मैतिदेवीस्थित एक सहकारी संस्थामा काम गर्ने कर्मचारीबाट नगद तथा चेक लुटपाट गर्ने समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मैतीदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने काठमाडौंको कपन बस्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ र सहकारीका कागजात तथा चेकबुक लुटेर फरार रहेका ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी असन वतन भई भुरुङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका-२६ नरदेबी वतन भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेबी वतन भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेबी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका-२ वतन भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् ।

नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफे नजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाईते बनाई, डर धाक धम्की दिई लुटपाट गरी फरार रहेका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी चलिरहेको गाडीबाट बिभिन्न सर-सामानहरु पटक-पटक चोरी गर्ने गरेको पनि खुलेको छ ।

आवश्यक कारवाही र थप अनुसन्धानका लागि उनीहरूमध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाईएको उक्त महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्