‘नेपालले कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउने’

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : २३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ विरुद्धको भ्याक्सिन सकेसम्म चाँडो ल्याउने बताएका छन् । त्यसका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको ओलीको भनाइ थियो ।

शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारी र निजी क्षेत्रका तर्फबाट नेपालमा भ्याक्सिन ल्याइने जानकारी दिए ।

नेपालीले कोरोनाको खोप कहिले पाउँछन् हामी कहिलेदेखि पहिलकै जस्तो ढुक्क भएर विद्यालय जान पाउँछौँ भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा रहेकाहरुलाई भ्याक्सिन उपलव्ध गराउने बताए ।

‘निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउनका लागि अनुमति दिने र सरकारका तर्फबाट पनि छिटोभन्दा छिटो ल्याउने र सबैभन्दा पहिला फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिक र अरु गर्दै सबै नेपालीहरु जसलाई भ्याक्सिन आवश्यक हुन्छ त्यहाँ पु¥याउने गरी तयारी गरेका छौँ’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनबाट आफूहरुले कोभ्याक्स अन्तर्गतको खोप आउने भए पनि त्यो अलि ढिला हुने भएका कारण त्यो भन्दा अगाडि नै खोप खरिद गर्ने बताए।

उनले खोप खरिद गर्दा विशेष गरेर छिमेकी मूलुकमा बनेका र नेपालको जस्तै हावा, पानी खानपिनमा प्रयोग र परीक्षण गरिएको भ्याक्सिनमा जोड दिएको बताए।

‘हामीले विश्व स्वास्थ्य संगठनबाट कोभ्याक्स प्राप्त गर्छौँ, त्यो अलिकति ढिला हुनसक्छ। त्यो भन्दा अगाडि नै हामीले किनेर ल्याउँछौँ’, उनले भने, ।


प्रतिक्रिया दिनुहोस्