केही नेताको स्वार्थका कारण नेकपा विभाजित : राज्यमन्त्री मानन्धर

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ०७


काठमाडौं । सहरी विकास राज्यमन्त्री समेत रहेका सत्तारुढ नेकपाका केन्द्रीय सदस्य रामवीर मानन्धरले केही नेताको सिमित स्वार्थका कारण नेकपा विभाजनको मुखमा पुगेको बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्वर ७ स्तरिय कार्यकर्ता भेलामा मन्त्री मानन्धरले केही नेताको स्वार्थका कारण पार्टी फुटको मुखमा पुगेको दाबी गरे ।
अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले धैयर्ता कायम गर्न नसक्दा पार्टीमा समस्या पैदा भएको दाबी गरे ।

पार्टीका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनपछि नेतृत्वमा दाबी नगर्ने बताएको अवस्थामा दुई शीर्ष नेताले धैर्यता कायम गर्न नसक्दा पार्टी दुर्घटनाको मुखमा पुगेको नेता मानन्धरको दाबी छ ।

प्रचण्ड र नेपाल चार महिना कुर्न नसक्ने अवस्थामा किन पुग्नुभयो भन्दै मन्त्री मानन्धरले प्रश्न गरे । चैत्रमा हुने भनिएको महाधिवेशनमा उनीहरुले नेतृत्व नपाउने देखेपछि पार्टी फुटाउन खोजेको आरोप लगाए । चेत्रमा महाधिवेशन भए युवा पुस्तामा नेतृत्व पुग्ने अवस्था आएकाले पुसमै पार्टी फुटाउन खोजिएको मन्त्री मानन्धरको दाबी छ ।

कार्यकर्तालाई विश्वास दिलाउन सकेको भए अबको चार महिनापछि उहाँहरुकै नेतृत्वमा सिंगो नेकपा अघि बढ्ने अवस्था आउने भन्दै मन्त्री मानन्धरले धैर्यता ध्रैयता गुमाउँदा समस्या आएको बताए ।

नेकपा अध्यक्ष ओलीले पार्टी नेतृत्व युवा पुस्ताले गर्दा उपयुक्त हुने धारणा राखेपछि नेपाल र प्रचण्डमा छटपटी शुरु भएको नेता मानन्धरको दाबी छ । ठुला नेताहरुको चित्त सानो भएका कारण पार्टी र सरकारमाथि प्रहार भएको मानन्धरको तर्क छ ।

अझै पनि ताजा जनादेशमा जाने सरकारको घोषणा स्विकार गर्दै आएमा पार्टी एक ढिक्का हुने मन्त्री मानन्धरको भनाइ छ ।

पार्टी कार्यकर्ता एकताको पक्षमा रहेको बताउँदै मन्त्री मानन्धरले अलग गतिविधि गर्न थाले आगामी चुनावमा जनताले माधव नेपाल र प्रचण्डलाई मतमार्फत् कारबाही गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्