प्रचण्ड र माधव नेपालले राजा चाहिन्थ्यो भन्ने सन्देश दिन खोजिरहेका छन्– प्रधानमन्त्री ओली

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : २२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफू इतरको समूको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले राजावादीहरुलाई साथ दिएको आरोप लगाएका छन् ।

प्रचण्ड र नेपालले संघीयता, लोकतन्त्र र गणतान्त्रिक प्रणाली ठीक होइन भन्ने निष्कर्ष निकाल्न खोजिरहेका पनि ओलीले आरोप लगाएका छन् ।

शुक्रबार विश्वका विभिन्न ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरुलाई भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपालबाट राष्ट्रपतिको हुर्मत लिने काम भएको पनि बताए ।

‘लोकतान्त्रिक प्रणाली ठीक होइन, यो संघीयता ठीक होइन र गणतन्त्रात्मक प्रणाली ठीक होइन, यो निष्कर्ष निकाल्न उहाँहरु खोजिरहनुभएको छ,’ प्रचण्ड र नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘राष्ट्रपतिको काम ठीक भएन, यहाँ त राजा चाहिन्थ्यो भनेर उहाँहरु, राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिनलाई राष्ट्रपति ठीक भएन भनेर राष्ट्रपतिको हुर्मत लिने काम गर्नुभएको छ, बेइज्जत गर्ने काम गर्नुभएको छ । किनभने राष्ट्रपति भनेको काम लाग्दैन, यस देशमा राष्ट्रपति हुँदैन, त्यो सन्देश उहाँहरु दिन खोजिरहनु भएको छ ।’

पार्टी (नेकपा) विभाजनका लागि धेरै पहिलेदेखि नै प्रचण्ड र नेपालहरुले तयारी थालेको पनि ओलीले आरोप लगाए ।

‘पार्टी फुटिसक्यो भनेर धेरै पहिलेदेखि उद्घोष गर्नुभएको छ, कार्यकर्ताका बीच,’ ओलीले भने, ‘उहाँहरुको फुटाउने योजना थियो, त्यसको तयारी थियो, त्यसको निम्ति नै उहाँहरुले दुष्प्रचार गरिरहनुभएको थियो , त्यसकारण यो आजको मात्रै प्रयास हैन, यो लामो समयदेखिको अभ्यास हो ।’

नेपाल र प्रचण्डबाट ‘निर्लज्ज’ ढंगबाट आफूलाई दुवै पद छाड्न दवाव आएको पनि ओलीले सुनाए ।

‘प्रधानमन्त्री र अध्यक्ष दुवै पद केपी ओलीले छोड्नुपर्छ भनेर निर्लज्ज ढंगले माग गरिएको, राजीनामा गर्नु पर्छ, छोड्नु पर्छ, कहिले कहिले त्याग गर्नु पर्छ भन्ने जस्ता नरम र गुलिया शब्दहरु समेत प्रयोग गरेको, कहिले भद्दा ढंगले पद छोड्नुपर्छ, हट्नु पर्छ भनेको तपाईंहरुले सुन्नुभएको नै छ,’ ओलीले भने ।

आफूले विधि र प्रक्रियासम्मत तरिकाले नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेपनि बिगार्नकै लागि प्रचण्ड र नेपालले हतार गरेको ओलीले आरोप लगाए ।

‘केपी ओलीले दुवै पदबाट हट्नुपर्ने ? जसले यो आन्दोलन निर्माण गरेर अगुवाई ग¥यो, उसले थपक्क छोडिदिनुपर्ने र उहाँहरुलाई बिगार्न दिनुपर्ने ?’ ओलीले भने, ‘सपार्ने बाटोमा मैले उहाँहरुलाई भने– आउनुहोस्, सपार्ने बाटोमा लाग्नुहोस् । म सधैं बस्ने होइन, म छोड्ने हो, तर उहाँहरु बिगार्नका लागि अहिलेको अहिल्यै छोड्नुपर्ने, अपमानित भएर छोड्नुपर्ने भन्ने ।’

प्रचण्ड र नेपाल समूहले नै पार्टी फुटका गतिविधि अहिले प्रदेशहरुमा समेत विकास गरेको ओलीले आरोप लगाए ।

‘ममा मात्रै सीमित रहने होइन । अहिले तपाईंहरु देखिरहनुभएको छ, प्रदेश–प्रदेशमा अविश्वासको प्रस्ताव, प्रदेश–प्रदेशमा हस्ताक्षर । यो अभियान, यो क्यम्पियन उहाँहरु चलाइरहनु भएको छ ।’


प्रतिक्रिया दिनुहोस्