एउटा अपहरणकारीको ‘अपराध यात्रा’, नेपाल प्रहरीको पञ्जाबाट उम्किएर दार्जिलिङमा कपडाको व्यापार !

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । सार्लाहीको साविक ढुङ्ग्रेखोला गाविस वडा नम्बर ५ (हाल करिवन–९)का दूर्गा बहादुर बुढाथोकी २०६४ वैशाखमा काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाटै मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका थिए ।

अनुसन्धानका लागि उनी महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा थिए । तर, उनी २५ वैशाख २०६४ मा प्रहरीको हिरासत तोडेर भाग्न सफल भए ।

अपराधको दुनियामा ‘सोले’ र ‘कुमार’ नामबाट समेत पहिचान बनाएका उनै बुढाथोकीलाई हिरासत तोडेर भागेको झन्डै १३ वर्षपछि पुनः पक्राउ गरेको छ । तर, यसबीचमा उनको अपराधको यात्रा भने मोटरसाइकल ‘चोर’बाट व्यक्ति अपहरण तथा शरीर बन्धकसम्म पुगेको छ ।

२०६४ वैशाख २५ गते बानेश्वर प्रहरीको हिरासत तोडेर भागेका बुढाथोकी त्यसपछि अमर टण्डन र उदय सेठ्ठीको समूहमा रही अपहरण तथा गुण्डागर्दीमा सक्रिय रहे ।

मोटरसाइकल चोरीको कसुरमा पक्राउ परेपछि हिरासतको ग्रील तोडेर भाग्न सफल भएका बुढाचोकी जुन समूहमा संलग्न थिए, जसले नेपालमा अपहरण र संगित रुपमा फिरौती असुलीको धन्दा स्थापित गरेको थियो ।

भारतीय नागरिक उदय सेठ्ठीले केही समय मुम्बइमा रहेर त्यहाँका कारागारमा रहेका कैदी (अपराधी)हरुलाई खाना पुर्याउने काम गरे । त्यतिबेला सेठ्ठी जेलमा रहेका अपराधीहरुलाई खानासँगै भूमिगत अपराधिक समूहको सन्देश समेत आदानप्रदान गर्थे । कैदीसँग सन्देश आदानप्रदान गर्दा गर्दै उनको भूमिगत अपराधिक गिरोहका सदस्यसँग सम्बन्ध बाक्लियो ।

अण्डरवर्ल्ड डन छोटा राजन समूहसँग निकट सम्बन्ध रहेको थाहा पाएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गर्न तयारी गरेको थियो, उनी लुक्दै छिप्दै भागेर नेपाल आइपुगे ।

२०५९ सालतिर नेपाल आइपुगेका सेठ्ठीले अमर टण्डनसँग मिलेर संयुक्त रुपमा अपहरण तथा शरीर बन्धक गरी फिरौती असुल्ने धन्दा शुरु गरे ।

अपहरण तथा शरीर बन्धक गरी फिरौती असुलीको एक घटनामा प्रहरीको खोजी सूचीमा रहेका टण्डन पक्राउ परेपछि सेठ्ठीले प्रह्लाद महत समेतको सहयोगमा आफ्नो धन्दा अगाडि बढाए ।

टण्डन पक्राउ परेलगत्तै सेठ्ठीको समूहले काठमाडौंको सामाखुसीका व्यवसायी निरज कक्षपतीको अपहरण गरी १ करोड ५० लाख रुपैयाँ फिरौती असुलेको थियो ।

कक्षपतीलाई अपहरण गरी कञ्चटमा पेस्तोल राखेर धम्क्याउने क्रममा सेठ्ठीकै समूहका सदस्य सुदीप मैनालीलाई गोली लागेको थियो । त्यसपछि सेठ्ठी समूहले आफ्नै सहयोगी मैनालीलाई पुनः २ राउण्ड गोली हानेर हत्या गरेको थियो ।

शवको पहिचान गर्न नसकियोस् भनेर सेठ्ठी समूहका सदस्यले मैनालीको अनुहारमा ढुङ्गाले किचेर शरीरलाई क्षतविक्षत पारी बोरामा पोको पारेर गौरीघाटमा फालेको थियो ।

पछि मैनालीको परिवारले सेठ्ठी र टण्डनसहितलाई प्रतिवादी बनाएर कर्तव्य जानको कसुरमा महानगरीय प्रहरी बृत्त बौद्धमा किटानी जाहेरी दिएको थियो ।

अपहरण तथा शरीर बन्धक बनाएर फिरौती असुल्ने समूहविरुद्ध पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विशेष अनुसन्धान थालेको थियो । सीआईबीको अनुसन्धानबाट सेठ्ठी र टण्डनको समूहले १९ वटा अपहरणका घटना गराएको देखिएको थियो ।

यो समूहले शिव सरावगी, सुमित शेरचन, ज. आशुतोष, पवन अग्रवाल, अमित्य गुरुङ, उमेश गर्ग, दिलीप अग्रवाल, ईश्वरदत्त पाण्डे, टीकाराम अर्याल, महेश मुरारका, निरज कक्षपती र बाबुराजा रावलको अपहरण गरेको घटना प्रमुख हुन् ।

यो समूहले पूर्वतयारीका साथ संगठीत रुपमा हतियारसहित व्यवसायीहरुको अपहरण गर्ने गर्दथ्यो । काठमाडौंका व्यवसायीको अपहरण गरी फिरौती उठाउँदासम्म राख्नका लागि यो समूहले काठमाडौंको बौद्ध तथा मण्डीखाटार र उपत्यका बाहिर रुपन्देहीको छपीयामा घरहरु भाडामा लिएर राखेको विषय पनि प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

सेठ्ठी र टण्डनको समूहले गरेका अपहरणमध्ये सर्लाहीका बुढाथोकीको काठमाडौंको बालाजुका व्यवसायी बाबुराजा रावलको अपहरणमा मुख्य भूमिका थियो ।

बुढाथोकीसहित प्रह्लाद महत, विष्णु जिसी, बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की र अनिल गुरुङले योजना बनाइ २०६५ पुस २ गते बालाजुका व्यवसायी रावलको अपहरण गरेको थियो ।

भ्याली कोल्ड स्टोरका सञ्चालक रहेका रावलको अपहरण गरेर काठमाडौंको टोखा पुर्याएका उनीहरुले पछि १ करोड ५० लाख रुपैयाँ धरौटी असुल गरेर छाडेका थिए ।

रावल अपहरण प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले घटना भएको १ वर्षपछि सेठ्ठी, महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्की र मानदेव गुरुङलाई पक्राउ गरेको थियो ।

बुढाथोकी भने फरार थिए । रावल अपहरण प्रकरणबाट बच्न सफल भएका उनी पछिल्लो समय भने भारतीय राज्य पश्चिम बंगालको पहाडी क्षेत्र (नेपाली समुदायको बाहुल्यता रहेको) दार्जिलिङमा बस्दै आएका थिए ।

दार्जिलिङमा उनी प्रकाश क्षेत्रीको नामबाट बस्दै आएका थिए । त्यहाँ उनले ‘प्रकाश स्टोर्स’को नामबाट कपडाको होलसेल पसल समेत चलाउँदै आएका थिए ।

दार्जिलिङमा बस्दा पनि उनी अपहरणका गतिविधिलाई जारी नै राखेका थिए । उनी नेपालमा अपहरण गराइ असुलेको फिरौती लिनका लागि हुण्डीको प्रयोग गर्थे ।


प्रतिक्रिया दिनुहोस्